नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरू भविष्यको नेतृत्व मात्र होइनन्, वर्तमानमा नै राष्ट्र निर्माणका शक्ति भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएको बताए।
शुभकामना सन्देशमा उनले भनेका छन्-‘गरिबी, असमानता, जलवायु परिवर्तन, र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ति तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात् गर्दै यस वर्षको नारा समेत तय भएको सन्दर्भमा नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको छु ।’
प्रचण्ड थप भन्छन्- ‘मलाई स्वयं आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त भयो । ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ । हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो ।





