राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
बिहीबार नै संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ताको समय तोकिएकाले सोअघि नै संसदीय दलको बैठक राखिएको उनले जानकारी दिए।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही दिन डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तय गरेका थिए। यसअनुसार बिहीबार सभापतिहरूका लागि मनोनयन दर्ता हुने भएको हो।
संघीय संसदअन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभाअन्तर्गत १० वटा, राष्ट्रिय सभाअन्तर्गत ४ वटा र २ वटा संयुक्त समिति रहेका छन्।
राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त २ वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।




