काठमाडौं, फाल्गुन ५ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले निःशुल्क उपचारको व्यवस्था लागू गरेको बताउनुभएको छ। उहाँले बाल क्यान्सरको उपचारमा सहयोग पुर्याउने अन्तर्राष्ट्रिय दाताहरूप्रति आभार व्यक्त गर्दै नेपालले प्राप्त गरेको औषधीले बाल क्यान्सर उपचारलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
नेपालले विश्व स्वास्थ्य सङ्गठन (WHO) र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स कार्यक्रमअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा आवश्यक औषधी प्राप्त गरेको छ। क्रमशः थप औषधीहरू प्राप्त हुने जनाइएको छ।
बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था
स्वास्थ्य मन्त्री पौडेलका अनुसार सरकारले सङ्सिर १ गतेबाट बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था लागू गरेको छ। यस व्यवस्थाले आर्थिक कठिनाइका कारण उपचार नपाएका बालबालिकालाई जीवनदान दिने विश्वास गरिएको छ। उहाँले बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रण गर्न यस निर्णयले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
“देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेका छौं। उपचारसँगै निरोधात्मक विधिहरू प्रवर्द्धन गर्न पनि काम गरिरहेका छौं,” मन्त्री पौडेलले बताउनुभयो।
सबै प्रदेशमा उपचार सेवा विस्तार
मन्त्री पौडेलका अनुसार क्यान्सरको उपचार सेवालाई सबै प्रदेशमा विस्तार गर्ने सरकारको योजना रहेको छ। बाल क्यान्सर उपचार सेवामा थप सुधार ल्याउने योजनाका साथ सरकारले आवश्यक स्रोतसाधन परिचालन गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त औषधीहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ।
“बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधीले महत्त्वपूर्ण भूमिका खेल्ने छन्,” प्रवक्ता बुढाथोकीले भन्नुभयो। “मन्त्रीज्यूको निर्णय क्यान्सर नियन्त्रणमा प्रभावकारी हुनेछ।”
सरकारको यस निर्णयबाट आर्थिक अभावका कारण क्यान्सरको उपचारबाट बञ्चित बालबालिकाका लागि ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।





