काठमाडौँ उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौँका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारीविरुद्ध दश करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक तिवारीले सार्वजनिक पद धारण गरेको मिति २०४४ भदौ १९ गतेदेखि २०७८ वैशाख ९ गतेसम्मको अवधिलाई जाँच कायम गरी निज र निजको एकाघर परिवारमा आय, पारिश्रमिक बचत, वैदेशिक आय, वैदेशिक भ्रमण भत्ता, दैनिक भ्रमण भत्ता, विविध भत्ता आय, अवका पश्चात कर्मचारी सञ्चय कोष र सञ्चित बिदा बापत प्राप्त रकम, घरजग्गा बिक्री लगायतबाट कानुनी रुपमा आर्जन गरेको वैधानिक आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपियाँ देखिएको छ ।
सो अवधिमा निजको व्ययतर्फ अध्धयन खर्च, ऋण-सापटी लगानी रकम, कम्पनीमा लगानी रकम, घर खरिद-निर्माण खर्च, जग्गा खरिद खर्च, घरजग्गा बिक्री लाभकर, हिराको हार, शेयर खरिद लगायत विभिन्न शीर्षकमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार सार्वजनिक पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध दश करोड ५४ लाख ९५ हजार ८७१ रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको आयोगले जनाएको छ ।
तिवारीकी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी कायम गरी सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



