आईपीएल : मुम्बईमाथि पञ्जाबको सानदार जित, आज गुजरात र कोलकाता खेल्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा पन्जाब किङ्सले आफ्नो अपराजित यात्रा कायम राख्दै मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ७ विकेटले पराजित गरेको छ । बिहीबार भएको यो खेलमा पन्जाबले १६.३ ओभरमै १९६ रनको लक्ष्य पूरा गर्दै सिजनको चौथो जित दर्ता गरेको हो ।

यो जितसँगै पन्जाब ५ खेलमा ४ जित र १ नतिजाविहीनसहित ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९५ रन जोड्न सक्यो । क्विन्टन डिककले ६० बलमा ८ चौका र ७ छक्कासहित अविजित ११२ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । नमन धीरले ५० रन बनाए भने कप्तान हार्दिक पाण्ड्या १४ रनमा सीमित रहे । अन्य ब्याटरले दोहोरो अंक छुन पनि सकेनन् ।

पन्जाबको बलिङ आक्रमणमा अर्शदीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएर खेलको रंग बदलिदिए । उनै अर्शदीप म्यान अफ द म्याच चुनिए । मार्को जान्सन र शशांक सिंहले १–१ विकेट हात पारे ।

जवाफमा पन्जाबको चेज उत्कृष्ट रह्यो । ओपनर प्रभसिमरन सिंहले ३९ बलमा ११ चौका र २ छक्कासहित अविजित ८० रनको पारी खेले । कप्तान श्रेयस ऐय्यरसँग तेस्रो विकेटका लागि १३९ रनको शतकीय साझेदारी गरे । ऐय्यरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन जोडे । प्रियांस आर्या १५ र कुपर कोनोली १५ रनमा पेभेलियन फर्किए भने मार्को जान्सन १० रनमा अविजित रहे ।
मुम्बईका लागि एएम घजनफरले २ विकेट लिए भने शार्दुल ठाकुरले १ विकेट हात पारे । यो हारसँगै मुम्बईको सिजन झन् खराब बनेको छ । पहिलो खेलमा कोलकाताविरुद्ध जित निकालेको मुम्बई त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाबसँग हार बेहोर्दै ५ खेलमा १ जित र ४ हारसहित २ अंकका साथ नवौं स्थानमा झरेको छ ।

पन्जाबले भने गुजरात टाइटन्स, चेन्नई सुपर किङ्स, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

आज (शुक्रबार) आइपीएलको २५औं खेलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।