नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियुक्त भएको दिनदेखि नै ओली ‘आज हो कि भोलिको’ को तनावमा बस्नुपरेको बताएका हुन्
‘केपी ओलीको सरकार बनेको दिनदेखि सुरु भइसकेको छ, उहाँ आजै फाल्छन् कि भोलि नै फाल्छन् भन्ने तनावमा बस्नुभएको छ,’– महासचिव चन्दले भने । नेता विप्लवले सबै सिंहदरबार र सत्ताको खेलमा लागेको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सत्ता र सिंहदरबारको खेलमा रुमलिएको टिप्पणी गरे ।
नेता विप्लवले युवा विदेश गएर डलर कमाएर सुख पाउने सपना देखेरमात्रै नहुने बताए । उनले चीनबाट बीआरआई प्रोजेक्ट आउँदैमा नेपाल रातारात धनी नहुने बताए । उनले कुनै–कुनै प्रोजेक्ट सित्तैमा दिएपनि लिन नहुने बताए । बीआरआईबारे चीनले जसरी भनेको छ, त्यसरी नै बुझ्नुपर्ने बताए ।





