नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने

 नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुंगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् । उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुंगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्नेछौं ।’

उनका अनुसार बैठकले प्रदेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पुनः स्थापना हुनुपर्ने माग गरेको बताए । ‘प्रदेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रदेशसभाको विघटनलाई बदर गर्दै प्रदेशसभा पुनः स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उनले भने ।

उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेध, प्रतिशोधको बाटोमा हिँडिरहेको बताए ।