केपी ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट राेक्का

मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन राष्ट्रिय अनुस्नधान विभागका प्रमुख हुतराज थापा र काठमाडौँ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ।

१२ असोजमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

बैठकले उनीहरुलाई काठमाडौं उपत्यका बाहिर जान पनि बन्देज लगाइएको छ।

२३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अनुसन्धानको दायरमा रहेको हुँदा उनीहरुको विदेश भ्रमणमा रोक लगाउन र कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुँदा स्वीकति बेगर काठमाडौै उपत्यका छाड्न नपाउने निर्णय गर्न सरकारलाई सिफारिस गरेको थियो।

२३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा अत्यधिक दमन गरेको आरोप उनीहरूलाई लागेको छ। आन्दोलनका क्रममा ७४ जनाको निधन भएको थियो।

२३ गते माइतीघर मण्डलबाट सुरु भएर नयाँ बानेश्वर पुगेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना युवाहरूको निधन भएको थियो। त्यसपछि आक्रोशित भिडले २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवाससहित नेताहरूका निजी निवासमा समेत आगजनी र तोडफोड गरेको थियो।

प्रदर्शनका क्रममा निजी व्यावसायिक प्रतिष्ठान र उद्योगी व्यवसायीहरूको निवासमा समेत तोडफोड र आगजनी भएको थियो।

२४ भदौमा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि सेनाले उनलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा राखेको थियो। गृहमन्त्री रहेका रमेश लेखकले भने २३ भदौमा नै पदबाट राजीनामा दिएका थिए।