धरानको भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

जेन जी आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।

जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए । मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए ।

भदौ २४ गते बेलुका करिब ७ः०० बजे जेनजी आन्दोलनका क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए ।