डिप फेक’ अडिओविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो स्वर नक्कल गरी बनाइएको ‘डिप फेक’ अडियो सामग्री सार्वजनिक भएको भन्दै साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेका छन् ।

बुधबार दिउँसो वाग्ले स्वयं भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय पुगेर निवेदन दर्ता गराएका हुन् ।

ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीले उजुरी दर्ता भएको पुष्टि गरे ।

हालै सामाजिक सञ्जालमा नेपाल–भारत सम्बन्ध तथा सीमा समस्या सम्बन्धी विषयमा वाग्लेको नाम जोडेर विभिन्न भिडियो तथा टेक्स्ट सामग्रीहरू सार्वजनिक भइरहेका छन् । ती सामग्रीहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाग्लेले संवाद गरेको जस्तो देखाइएको छ ।

वाग्लेले यस्ता सामग्रीप्रति गम्भीर आपत्ति जनाउँदै ती नक्कली र भ्रामक रहेको स्पष्ट पारेका छन् । साथै, यस्ता अफवाह फैलाउने तथा फेक सामग्री पोस्ट गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

साइबर अपराधसम्बन्धी बढ्दो चिन्ताबीच वाग्लेको उजुरीले सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रविधिको दुरुपयोग र यसको कानुनी नियमनबारे नयाँ बहस समेत चर्काएको छ ।