राज्य व्यवस्था एवं सुशासन समितिको सभापति दिलेन्द्र बडूलाई बनाउने कांग्रेसको तयारी

नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो ।

कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार विहान स्थगित गरेको बैठक फेरि बोलाएका छन् ।

शीर्ष पाँच नेताको बैठक दिउँसो बस्नेगरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ ।

राज्य व्यवस्था समिति सभापतिको लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि सभापति देउवा शीर्ष नेताको बैठक आकस्मिक बोलाएका हुन् ।

समितिको सभापतिका लागि आकांक्षी चार सांसदमध्येबाट बडूलाई अघि सार्न लागिएको हो । अम्बिका बस्नेत, सरिता प्रसाईं र हृदयराम थानी पनि आकांक्षी छन् ।

समितिमा कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा दिलेन्द्रप्रसाद बडू,, सरिता प्रसाई, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र अम्बिका बस्नेत सदस्य छन् ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।