‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ अभियान चलाउनुपर्छः पूर्वराजा  शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै शाहले नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अर्जुन दृष्टि लगाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्। 

उनले भने,‘प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने ? ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आवश्यकता भएको छ।’ उनले युवा पलायनलाई रोकेर युवा स्रोतलाई स्वदेशमा परिचालन गर्नुपर्ने उल्लेख गरे।

शाहले जनतासमक्ष राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्योपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ? भन्दै प्रश्न गरेका छन्।

‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्योपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ?’ उनले भने, ‘सन्तुलित, कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूलधार हुनुपर्ने हो।’