आज विभिन्न ६ वटा समितिको बैठक बस्दै

आज विभिन्न ६ वटा समितिको बैठक बस्दै छ ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ ।

यता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि  बिहान ११ः०० बजेसुरू हुनेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

यसैगरी बिहान ११ः३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने स्वर्गद्वारी गुठी किसानहरूका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ ।  बैठक बिहान ११ः०० बजे बस्नेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपराह्न १२ः३० बजे बस्नेछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने छ र छलफल हुनेछ ।

यता बिहान ११ः०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गरिने कार्यसूची रहेको छ ।