नेकपा (एमाले)ले कोशी प्रदेश सभाका पूर्व सांसद एवम उदयपुरका नेता विमल कार्कीलाई पार्टीबाट निलम्बन गरेको छ ।
पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको हो । उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएका थिए।
‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए ।
कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । अध्यक्ष ओलीविरूद्ध फेसबुकमा लेखेको आधारमा कारबाही भोग्ने नेताहरूको सूचिमा अहिले कार्कीको नाम पनि थपिएको छ।
व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रूपमा असहमति जनाएका थिए । लगत्तै उनीहरू तीनै जनालाई महासचिव शंकर पोखरेलले स्पष्टीकरण सोधेका थिए ।
उनीहरूलाई स्पष्टीकरण सोध्ने पार्टी नेतृत्वको कदमप्रति असहमति जनाउँदै पूर्व सांसद कार्कीले फेसबुकमा आफ्ना विचार राखेका थिए।
‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौं?व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो। यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरी नै रहन्छौं।’





