कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ । उनले आजै शपथ लिनसक्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयमा काम गरिसकेकी उनी ओलीलाई ‘बा’ भन्ने नेतामध्येकी एक हुन् । उनलाई कोशीको सांसद बनाउनुअघिनै मन्त्री बनाउने सहमति भइसकेको स्रोतको दाबी छ ।
सुरुमा पार्टीले संघीय सांसद बनाउने भनेपनि अन्तिम समयमा प्रदेशसभा सदस्य बनाइएकी उनलाई त्यतिबेलै प्रदेश सरकारमा पठाउने भनिएपनि अहिलेसम्म अवसर भने पाउन सकेकी छैनन् । उनले भने पार्टीले जिम्मेवारी दिएमा आफूले सक्रियतापूर्वक काम गर्ने बताउँदै आएकी छन् ।





