राजनीति हिंसा शब्द नहटाएसम्माम ओवादीले संसद अवरोध जारी राख्ने

नेकपा (माओवादी केन्द्र) को संसदीय दलले प्रतिनिधि सभा अवरोधलाई जारी राख्ने निर्णय गरेको छ।  आइतबार बसेको संसदीय दल बैठकले हिंसा शब्द रेकर्डबाट नहटेसम्म अवरोधलाई जारी राख्ने निर्णय गरेको सांसद देवेन्द्र पौडेलले  बताए।

‘हिंसा शब्द संसदको रेकर्डबाट नहटेसम्म हाम्रो विरोध जारी रहन्छ, हामी प्रतिनिधि सभामा अवरोध गरिराख्छौं,’ उनले भने।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले ‘जनयुद्ध’ को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू यो विषयलाई लिएर आरोपप्रत्यारोपमा छन्।