बीपी राजमार्ग अनिश्चितकालीन बन्द

बिपी राजमार्गमा मंगलबार साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

मंगलबार साँझ ७ बजेदेखि राजमार्गअन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा भारी वर्षा भई रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायत स्थानमा निरन्तर भारी वर्षा भइरहेकाले रोशी खोलामा आउने बाढीले राजमार्गमा जोखिम बढ्न सक्ने देखिएकाले यातायात रोकिएको हो।

हाल सवारीसाधनलाई राजमार्गको प्रवेश बिन्दु धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ। छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड तथा व्यवस्थापन गरिएको विष्टले बताए।