प्रधानमन्त्री राष्ट्रियसभा जाने, सामाजिक सञ्जाल विधेयक फिर्ता लिने

सरकारले सङ्घीय संसद्मा विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिने भएको छ। राष्ट्रियसभाको शुक्रबार अपराह्न १:१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्बाट सो विधेयक फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा थियो।

विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने तयारी
आजकै बैठकमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन’ विधेयक, २०८१) पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्नेछिन्। त्यसअघि उक्त विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

अन्य कार्यसूची

निकुञ्ज समस्याबारे छलफलस् सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यता राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आजै बिहान ११ बजे अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ।