भृकुटीमण्डपमा गुञ्जिनुपर्ने नाराहरू श्रद्धाञ्जलीमा बदलिए, कांग्रेसको पदयात्रा रोकियो

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनपछि पार्टीभित्र शोक छाएको छ। दाहालको निधनप्रति सम्मान प्रकट गर्दै नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्षधर) ले आज आयोजना गर्न लागेको पदयात्रा कार्यक्रम स्थगित गरेको छ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको आगामी २७ र २८ गतेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने कार्यक्रम तय भएको थियो।

तर, वरिष्ठ पत्रकार समेत रहेका अग्रज नेता दाहालको दुःखद् निधनको खबरसँगै आयोजक समूहले तत्कालका लागि सडक केन्द्रित कार्यक्रम रोक्ने निर्णय गरेको हो। विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित पत्रकार अन्तरक्रियाका क्रममा आयोजकहरूले दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा औपचारिक कार्यक्रमहरू अघि नबढाउने जानकारी दिएका छन्।

स्मरण रहोस्, कांग्रेस महामन्त्रीद्वयले पार्टी रुपान्तरण र समसामयिक राजनीतिका विषयमा छलफल गर्न भन्दै यही २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका छन्। सोही महाधिवेशनको माहोल बनाउन आज पदयात्राको तयारी गरिएको थियो।