शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ‘ओलीकुटी’प्रति कटाक्ष गरेका छन्।
उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माको प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका हुन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै त्यसको नक्सा कोर्ने इन्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन्।
उनले लेखेका छन् ‘यो नक्सा डिजाइन गर्ने इञ्जीनियरलाई सख्त कारबाही गर्नु पर्छ। अनि घोर बेइज्जती तथा मानहानिको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भने पछि यत्रो ठुलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो ? एक छिन रमाइलो’।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते बालकोटस्थित ओली निवास जलेपछि भक्तपुरको गुण्डुमा नयाँ निवास बनाइँदैछ। ‘ओली कुटी’ नाम दिइएको भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन् ।





