नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनी निकटका नेताहरुले भेटेर चुनावअघि महाधिवेशन नगर्न आग्रह गरेका छन् ।
बिहीबार सभापति देउवाले आफ्नो अस्थायी निवास महाराजगञ्जमा आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेका थिए । भेटमा नेताहरूले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्न नहुने सुझाव दिएका छन् ।
छलफलपछि कांग्रेस पार्टी प्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन गर्न नहुने विषय आफूहरूले सभापति देउवासँग उठाएको बताएका छन् । उनले निर्वाचनअघि महाधिवेशन गरेर गए पार्टीलाई क्षति हुने कुरा सभापति देउवासँग राखेको बताएका हुन् ।
देउवाको भनाइ उद्धृत गर्दै महतले भने– ‘जे जस्तो भए पनि अहिलेको समस्यालाई समाधान गर्न सहमति गरेर जानुस् भन्नुभयो ।’ नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने बहस छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले पुसभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।





