तुइन खोलाको पहिरो हटाउने कार्य ६० प्रतिशत सकियो, आज रातिसम्ममा सञ्चालनमा ल्याइने अनुमान

 मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा आएको पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट २ लोडर र १ एक्साभेटरसहित दुवैतर्फ १/१ ब्याक हो लोडर परिचालन गरिएको छ । तर कार्यक्षेत्र साँघुरो भएकाले एकैपटकमा पाँचवटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

नारायणगढतर्फको भागमा ठूला ढुंगाहरूका कारण कठिनाइ भएपनि उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्। हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने कार्य सम्पन्न भएको छ ।

ढुंगाको मात्रा बढी हुनु, तिखा ढुंगाका कारण टायर पन्चर हुने तथा अपरेटर घाइते हुने जोखिमका कारण अपेक्षित प्रगति हुन नसकेकाले हेभी इक्विप्मेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर समेत खटाइएको छ ।

अवरोध नआए निरन्तर काम गर्न सकिने खण्डमा आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याइने अनुमान गरिएको छ ।