२०८१ फाल्गुन १५, बिहीबार
काठमाडौं । ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर हौसिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनीले फागुन १७ गते शनिबार प्रदेशस्तरीय आमसभा गर्ने भएको छ। केन्द्रबाट शीर्ष नेतालाई बोलाएर राप्रपाले बुटवलमा आमसभा गर्न लागेको हो।
यसअघि गत साता पोखरामा भण्डाफोर सभा गरेको राप्रपाले अब लुम्बिनी प्रदेशको राजधानी बुटवलमा शक्ति प्रदर्शन गर्दैछ। राप्रपाका अनुसार फागुन १७ गतेको आमसभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
पूर्व राजा ज्ञानेन्द्रले हालै एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको, राष्ट्रिय अस्तित्व कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए। शाहले राष्ट्रको हितका लागि आफू सदैव प्रतिबद्ध रहेको र आवश्यक परे पुनः त्याग गर्न तयार रहेको समेत बताएका थिए। उनको यो विज्ञप्तिले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।
राप्रपाले ज्ञानेन्द्रको वक्तव्यलाई पूर्ण समर्थन जनाउँदै नयाँ राजनीतिक समझदारीका लागि दलहरूलाई आग्रह गरेको छ। पार्टी नेतृत्वले मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याएको छ।
राप्रपाको बुटवल आमसभालाई शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। पछिल्लो समय पार्टीले राजतन्त्र पक्षधर जनमतलाई एकत्रित गर्दै आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अपनाएको छ। पोखरामा आयोजित भण्डाफोर सभाले उत्साह बढाएको भन्दै राप्रपा नेताहरू बुटवल आमसभालाई झन् भव्य बनाउन लागिपरेका छन्।
पार्टी स्रोतका अनुसार आमसभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट हजारौं कार्यकर्ता र समर्थकहरू सहभागी हुनेछन्। कार्यक्रमलाई भव्य बनाउने उद्देश्यसहित व्यापक तयारी भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यपछि राजतन्त्र पुनर्स्थापनाका विषयमा जनस्तरमा पुनः बहस सुरु भएको छ। राप्रपाले यसलाई अवसरका रूपमा लिएर आफ्नो शक्ति विस्तार गर्ने रणनीति बनाएको देखिन्छ। आगामी दिनमा पार्टीको गतिविधिले नेपाली राजनीतिमा के कस्तो प्रभाव पार्ने हो, त्यो भने प्रतीक्षाको विषय रहनेछ।





