“दलाल र विचौलियाको नियन्त्रणमा कांग्रेस-एमाले: प्रचण्डको कडा आलोचना”

काठमाडौं, २४ मंसिर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्था प्रति कडा आलोचना गर्दै कांग्रेस र एमालेको नेतृत्व दलाल र विचौलियाहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन्। उनले राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

दाहालले भने, “अहिले सरकारमा रहेका दलका नेताहरुका हातमा राजनीति छैन। बरु, उनीहरुको राजनीति विचौलिया र दलालहरुको हातमा छ भन्ने कुरा स्पष्ट देखिएको छ। नेताहरु त खाली मुखौटामात्रै हुन्। विचौलियाहरुले उनीहरुलाई घुमाएर, रातको अध्याँरोमा आफ्ना घरमा लगेर, आफूले भनेजस्तो गर्न बाध्य बनाइरहेका छन्।”

माओवादीको जनप्रतिबद्धता

पूर्व प्रधानमन्त्री दाहालले माओवादीले सरकार छोड्दै गर्दा जनताको पक्षमा निष्ठाका साथ निर्णय गरेको स्मरण गराए। उनले कांग्रेस–एमालेको सरकार गठनमा दलाल र विचौलियाको खेल रहेको बताउँदै अब माओवादीले जनताको ताकत देखाउने समय आएको बताए।

दाहालले भने, “माओवादी आन्दोलन सिद्धियो भनेर केही व्यक्तिले ह्युमिलियट गर्ने प्रयास गरे। माओवादीलाई विभाजन गरेर प्रचण्डलाई अपमानित गर्ने ठूलो षड्यन्त्र थियो। तर, माओवादीले नयाँ संकल्प र अठोटसहित सरकारबाट बाहिरिँदा प्रतिक्रियावादीहरुलाई चुनौती दिएर निस्किएको थियो।”

दलाल प्रवृत्तिका विरुद्ध अभियान

दाहालले माओवादी पार्टीभित्र अहिले अभूतपूर्व एकता रहेको र जनतामा पार्टीप्रतिको विश्वास पुनः स्थापना भएको दाबी गरे। उनले एमाले नेतृत्वको वर्तमान सरकारका कार्यलाई जनताले अस्वीकार गरेको र माओवादीले अघि बढाएको राम्रो कामसँग तुलना गर्दा पार्टीप्रतिको आशा र भरोसा बढेको बताए।

भविष्यप्रतिको आशा

कार्यक्रममा अध्यक्ष दाहालले पार्टीले विगतका कमजोरीहरु सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “हामीले हिजोका राम्रा कामहरु र जनताका अपेक्षालाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्नेछ। दलाल र विचौलिया प्रवृत्तिको अन्त्य गर्दै माओवादीले जनताको हितका लागि संघर्ष जारी राख्नेछ,” उनले थपे।

कार्यक्रममा सहभागी कार्यकर्ताहरुले दाहालको यो धारणा पार्टी एकता र जनप्रतिबद्धताका लागि प्रेरणादायी रहेको बताएका छन्।