उच्च अदालत पाटनले काठमाण्डु महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीश दलकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट खारेज गर्दै यसअघि जारी गरिएको अन्तरिम आदेश पनि स्वत: निष्क्रिय हुने ठहर गरेको छ ।
यसअघि अदालतले पाण्डेले गैरकानूनी रूपमा निलम्बन गरिएको दाबीसहित दिएको निवेदनमा अन्तरिम आदेश जारी गर्दै उनलाई काममा फर्किन आदेश दिएको थियो । तर अब आदेश खारेज भएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन निर्णय यथावत् रहने भएको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अनियमितताको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोकेका थिए । त्यसपछि उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूको सहयोगमा गुरागाईं कार्यकक्षमा प्रवेश गरेका थिए ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पदीय आचरण विपरीत काम गरेको भन्दै नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरेका थिए । पाण्डेले त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए, जसमा उच्च अदालतले रिट खारेज गरेको छ ।





