लागुपदार्थको कुलतबाट युवावर्गलाई जोगाउनुपर्नेमा परराष्ट्रमन्त्रीको जोड

कैलाली, २८ माघ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले लागुपदार्थको कुलतबाट युवावर्गलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले युवाहरुको उज्ज्वल भविष्य सुरक्षित गर्नका लागि सरकार, समाज र परिवार सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

“लागुऔषध त्यागौँ, स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने नाराका साथ नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिले आयोजना गरेको “लागुऔषध दुर्व्यसन विरुद्धको बृहत् पैदल यात्रा” को शुभारम्भ गर्दै मन्त्री देउवाले समाजका अगुवाले युवावर्गलाई सत्मार्गमा हिँड्न प्रेरित गर्नुपर्ने बताउनुभयो।

उहाँले लागुऔषध दुर्व्यसनको समस्या विश्वव्यापी रहेको उल्लेख गर्दै, घरपरिवारले आफ्ना सन्तानको निरन्तर निगरानी गरेमा यो समस्या केही हदसम्म भए पनि रोक्न सकिने विचार व्यक्त गर्नुभयो। साथै, सरकार र विभिन्न सङ्घसंस्थाले युवाहरुका लागि चेतनामूलक कार्यक्रम ल्याउनु आवश्यक रहेको औंल्याउनुभयो।

परराष्ट्रमन्त्री देउवाले अभिभावकहरूलाई सचेत रहन आग्रह गर्दै आफ्नो सन्तानको गतिविधिमा चासो राख्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, शिक्षालय, समुदाय र सुरक्षाकर्मीहरूबीच सहकार्य बढाएर लागुपदार्थ नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गर्न सकिन्छ।

कार्यक्रममा विभिन्न सरकारी अधिकारी, विद्यार्थी नेता, सामाजिक अभियन्ता तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले धनगढी नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै लागुपदार्थ विरुद्ध जनचेतना जगाउने नाराहरू लगाए।

नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिका अध्यक्षले युवावर्गलाई लागुपदार्थको कुलतबाट बचाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।

लागुऔषधको कुलतले सम्पूर्ण समाजमा नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको कार्यक्रममा वक्ताहरूले जोड दिएका थिए।