दाङको दंगीशरण गाउँपालिका–३ चखौरामा आजदेखी तीनदिने ‘रैथाने खाना महोत्सव’ हुने भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको सहयोगमा र थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा महोत्सव आयोजनामा हुन लागेको हो।
रैथाने खानाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डेले जानकारी दिनुभयो । बैशाख ६ गतेसम्म चल्ने महोत्सवमा थारू, मगर, गुरूङ, नेवारी परिकार राखिने उहाँले जानकारी दिनुभयो ।
विशेषगरी थारू समुदायको परम्परागत खानपान, भेषभूषा र रीतिरिवाज लोप हुँदै गएको अवस्थामा यसको संरक्षण गर्नको लागि महोत्सव आयोजना गर्न लागिएको थारू सांस्कृतिक संरक्षण केन्द्रको उपाध्यक्ष शान्ता चौधरीले बताउनुभयो । उहाँको अनुसार महोत्सवमा विशेषगरी थारू समुदायका परम्परागत खानाका परिकारहरू प्रमुख आकर्षण रहनेछन् । दाङका विभिन्न स्थानका साथै रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोबास गर्ने थारू समुदायले आफ्ना मौलिक परिकारहरू प्रदर्शन तथा बिक्री गर्नेछन्। यसका साथै नेवार, गुरुङ र मगर समुदायका परिकारहरू पनि महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ।
महोत्सवमा करिब १०० भन्दा बढी प्रकारका रैथाने खानाहरू राख्ने लक्ष्य रहेको थारू सांस्कृतिक संरक्षण केन्द्रको उपाध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा खानाका परिकारसँगै विभिन्न समुदायका परम्परागत नाच, गीत तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन् । आजदेखि दाङको चखौरामा तीनदिने रैथाने खाना महोत्सव हुँदै




