टी-२० विश्वकपमा जिम्बाब्वेले ओमानमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ । कसिलो बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले जिम्बाब्वेले ३९ बल बाँकी छँदै लक्ष्य पछ्याएको हो ।
१०४ रनको सामान्य लक्ष्य पछ्याएको जिम्बाब्वेले १३.३ ओभरमा मात्र २ विकेट गुमाएर जित हासिल गर्यो। जिम्बाब्वेको जितमा ब्रायन बेनेटले ३६ बलमा अविजित ४८ रनको महत्वपूर्ण इनिङ खेले। त्यस्तै ब्रेन्डन टेलरले ३१ रन बनाए।
ओमानका लागि सुफ्यान महमूदले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
त्यसअघि टस जितेर पहिले बलिङ रोजेको जिम्बाब्वेले ओमानलाई १९.५ ओभरमा मात्र १०३ रनमा समेटेको थियो । ओमानका लागि विनायक शुक्लले सर्वाधिक २८ रन जोडे भने सुफ्यान महमूदले २५ रनको योगदान दिए।
ओमानलाई सस्तोमा समेट्न जिम्बाब्वेका ब्लेसिङ मुजरबानी, रिचर्ड नगाराभा र ब्राड इभान्सले समान ३–३ विकेट लिए।





