विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायन्डले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायन्डले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा न्यु डायन्डले २५–२२ र २५–१८ ले जितेको थियो।
तेस्रो सेट भने १५–२५ ले गुमायो। उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो। तर, न्यु डायन्डले पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्यो।
उपाधिसँगै न्यु डायमन्डले ५ लाख पायो भने उपविजेता पुलिसले २ लाख ५० हजार पायो। तेस्रो एपीएफले १ लाख २५ हजार पाउँदा चौथो भएको आर्मीले ६५ हजार पायो।
न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट चुनिइन्। प्रतिभाले हाइलाइफद्वारा प्रायोजित ५० हजार नगदसहित ट्रफी पाइन्।
एपीएफकी मिना सुनार उत्कृष्ट सपाइकर, यसै प्रतियोगिताको उद्घाटनमा शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, प्रहरीकी पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक ठहरिए।
उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए। बाराही होटल र सारङकोट माउन्टेन लजले उनीहरुलाई गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने आयोजकले जनाएको छ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।





