कक्षा १२ को पूरक परीक्षा आज र भोलि

जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को पूरक परीक्षा आज र भोलि हुँदैछ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण रोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ बजेबाट शुरु हुनेछ । पहिलो दिन मंगलबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुनेछ ।

तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ । यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो ।