सुनचाँदी व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा

काठमाडौंको न्युरोडका सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा पसल बन्द गरेर प्रदर्शन गरेका छन्।

व्यवसायीले न्युरोडगेटदेखि ब्यानर र प्लेकार्डसहित सिठ्ठी र नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयातको कोटा बढाएर दैनिक २० केजी पुर्‍याएको थियो। तर, भन्सार महँगो परेको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए।

आगामी आर्थिक वर्षका लागि हिजो प्रतिनिधिसभाबाट पारित बजेटमा सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएको छ। यसले अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने भन्दै व्यवसायी प्रदर्शनमा उत्रिएका हुन्।