दसैँ नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरणको व्यवस्था सुरु गरेको छ। असोज १ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला नोट सटही गर्न सक्नेछन्। देशमा हालैको राजनीतिक सङ्क्रमणका कारण नोट वितरणमा अन्योल रहे पनि बैंकको भौतिक अवस्थामा ठूलो क्षति नभएकोले तोकिएको समयमै वितरण सुरु भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए।
राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयहरूबाट सुकिला नोट सटही गर्न सकिनेछ। यसबाहेक, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि यो सुविधा उपलब्ध हुनेछ। विशेषगरी दसैँमा माग हुने साना दरका नोटहरू सटही गर्न सकिने र पाँच रुपैयाँ दरका नयाँ नोटसमेत वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।
ग्राहकहरूले आफ्नो खाता रहेको बैंक, नजिकको वित्तीय संस्था वा राष्ट्र बैंकको कार्यालयमा गएर नोट सटही गर्न सक्नेछन्। गत वर्षदेखि सुरु भएको सुकिला नोट वितरणको अभ्यासलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दा वार्षिक करिब १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ।





