आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण राति १०:११ बजे स्पर्श हुनेछ। त्यसपछि ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुनेछ।
यो खग्रास चन्द्रग्रहणको कूल अवधि १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३० मिनेटको हुनेछ। नेपाल, भारतलगायत एसियाका धेरै देशबाट यो ग्रहण सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
राशिअनुसार ग्रहणको प्रभाव
ज्योतिषशास्त्रअनुसार यो चन्द्रग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशिलाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश, कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्य, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशिलाई व्यय हुनेछ।
कसले हेर्न हुने/नहुने?
ज्योतिषीय मान्यताअनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले यो ग्रहण हेर्नुहुँदैन। मेष, वृष, कन्या र धनु राशि भएकाहरूले भने ग्रहण अवलोकन गर्न सक्नेछन्। विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका तथा कुम्भ राशि भएका व्यक्तिहरूलाई यो ग्रहणले अति कष्ट दिन सक्ने ज्योतिषहरूले बताएका छन्।
ग्रहणको समयमा ज्योतिषीय सावधानी अपनाउन सुझाइएको छ। ग्रहण अवलोकन गर्न इच्छुकहरूले सुरक्षित तरिकाले हेर्न र ज्योतिषीय निर्देशनहरू पालना गर्न सल्लाह दिइएको छ।





