यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने

 यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, “गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिककालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरुको प्रमुख भूमिका रहेको हुन्छ ।”

विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ ।