भक्तपुरको गट्ठाघरमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएकी युवतीको पहिचान खुलेको छ। मृत्यु हुने २३ वर्षीया सुष्मा नेपाली रहेको र उनको ठेगाना दोलखाको मैलुङ भएको प्रहरीले बताएको छ।
नीसँग भएका कागजातका आधारमा यो विवरण खुलेको हो। आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा रहेकी नेपालीको घट्नास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा झोला र किताबकापी भेटिएका थिए।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्कर दिएर केही परसम्म घिसारेको थियो। त्यसक्रममा युवतीको शरीर क्षतविक्षत भएको थियो।
ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै स्थानीयले ट्राफिकविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए। आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउने प्रयास गर्नुका साथै केही सवारीसाधनमा तोडफोड गरेका थिए। साथै उनीहरुले चोकमा रहेको ट्राफिक आइल्याण्ड पनि उखेलेर फालेका थिए। दुर्घटनापछि गठ्ठाघर क्षेत्रको अवस्था दिनभरजसो तनावपूर्ण बनेको थियो। साँझबाट मात्र स्थिति सहज बनेको छ।