चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपालको उत्पादन वाईवाईले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप सीजीले गरेको घोषणाअनुसार उक्त रकम हस्तान्तरण गरेको हो । सीजीले बुधबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीलाई प्रोत्साहनस्वरूप वाईवाईले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।
सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाईवाईको घोषणाबमोजिम उक्त रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।