ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुईजनालाई घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम्बाबु भुजेललाई बिहीबार पक्राउ गरेको हो। उनीहरूलाई चार लाख रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो। उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको हो।
हेर्नुहोस् आयोगको विज्ञप्ति
प्रेस विज्ञप्ति:- मिति २०८१।०३।२७ गते।
नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई सेवाग्राहीबाट रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट आज मिति २०८१।०३।२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नरहरि घिमिरे