मुख्यसचिव अर्यालसहित १२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३८ करोड ६७ लाख बिगो दाबी

ciaa team baikuntha aryal corruption

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले बहालवाला मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको हो ।

विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ । तत्कालीन सञ्चारसचिव रहेको बेला अर्यालले सो स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए ।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए ।

९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्याललगायत संलग्नता पुष्टि भएको जिकिर अख्तियारको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

समन्धित समाचार