शोक र उल्लासको पर्व गाईजात्रा

Gaijatra 01

भक्तपुर, ७ भदौ – मृतकको सम्झनामा आज सापारु (गाईजात्रा) मनाइँदै छ । वर्षभरी सदस्य गुमाएका परिवारले उनको स्मृतिमा आज सापारु मनाउने गर्दछन् । नेवारी भाषामा साँ भनेको गाई र पारु भनेको प्रतिपदा हो ।

यसअर्थ साँ अर्थात गाई बनाएर नगर परिक्रमा गराएमा मृतकले गाईको पुच्छर समातेर स्वर्गमा जाने मान्यता नेवारी समुदायमा छ । सापारुमा मृतकको घरबाट गाई, ताहासाँ, ताहामचा, माटोको साँ वा साना नानीहरुलाई महादेव पार्वती बनाइन्छ (बाछा लुकेगु) । सो बनाइएका प्रतीकलाई नगरभित्र परिक्रमा गराइन्छ ।

गाईजात्रा शोक र उल्लासको संगम हो । भक्तपुरमा जगत मल्लका पालामा गाईजात्राको सुरुवात भएको संस्कृतविद्हरुको भनाई छ ।

संस्कृतविद् ओम धौभडेँलकाअनुसार लिच्छविकालमा मनोरञ्जनका लागि गोरु जुधाउने चलन पनि थियो । अनन्तलिंगेश्वरको अभिलेखमा ‘गो युद्ध’ उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईको यात्रा गर्ने चलन पूर्वमध्यकालमा शुरू भएको उनले बताए ।

आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयको ३६७ वर्षसम्म नेपालको राजधानी भक्तपुर थियो । यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा भिन्नै संस्कृति विकास भयो । अहिलेसम्म पनि यी तीन ठाउँको नेवारी भाषा–संस्कृतिमा सामान्य अन्तर पाइन्छ । भक्तपुरमा बाँसलगायत आवश्यक सामग्री पाउने भएकोले यहाँको गाईजात्रा फरक हुने गरेका संस्कृतविद् धौभडेल बताउँछन् ।

सापारुलाई मृतकको तथ्यांक संकलन गर्नको लागि प्रयोग गरिएको उनले बताए । वर्षभरी मृत्यु भएको परिवारका सदस्यले विभिन्न प्रतिक बनाई नगरमा परिक्रमा गरिन्छ । सबैले नगरभित्र परिक्रमा गराउने भएकोले मृत्यु भएको व्यक्तिको तथ्यांक लिन सहज हुने उनले बताए । मृतक व्यक्तिको सम्झनामा परिक्रमा गराउँदा एक परिवारबाट अर्को परिवारलाई सान्त्वना मिल्ने उनी बताउँछन् ।

गुन्हीपुन्हीमा तलेजु भगवानको मन्दिरबाट सुरु हुने गाईजात्रा भाद्र कृष्ण अष्टमीसम्म चल्छ । यसरी गाईजात्रा भक्तपुरमा ८ दिन ९ रात चल्ने गर्दछ ।

समन्धित समाचार