लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प

lukla

मौसम प्रतिकूलताका कारण लुक्लाको तेन्जिङ-हिलारी विमानस्थलमा उडानहरू स्थगित भएपछि पर्यटकहरू समस्यामा परेका छन्। जेठ २६ गतेदेखि कुनै पनि विमानले उडान भर्न नसक्दा खुम्बु क्षेत्र भ्रमण गर्नेहरूको यात्रा प्रभावित भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले अत्यधिक हुस्सु र कम दृश्यता हुँदा विमान र हेलिकोप्टरले उडान भर्न नसकेको जानकारी दिए। उनले भने, “यो समय सगरमाथा क्षेत्रमा भ्रमण गर्ने विदेशी र स्वदेशी पर्यटकहरू फर्कने मौसम हो। अहिले आउनेभन्दा फर्किने पर्यटकहरू धेरै छन्। तर, मौसम प्रतिकूल भएकाले सबै उडान तालिका १० दिनदेखि रद्द भएका छन्। हुस्सु यति बाक्लो छ कि वरपरका वस्तुहरू समेत देखिँदैनन्, विमान उडान गर्नु त परको कुरा हो।”

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकोप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले जानकारी दिए । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकोप्टरले पर्यटक काठमाडौं लैजाने गरेको उनले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

समन्धित समाचार