काठमाडौँ । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले काेराेना भाइरसविरूद्धकाे पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिनुभयो । यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । बाँकीले पूर्ण मात्रा पाएका छैनन् । उहाँका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो ।याे खबर गाेरखापत्र दैनिकमा छ ।
आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उहाँले बताउनुभयो । पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ । त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् ।