तीनकुने घटना : दुर्गा प्रसाईंविरुद्ध ज्यान मुद्दासहित पाँच ओटा कसुरमा बयान सुरु

103 1

तीनकुनेमा १५ चैतका दिन राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा सोमबारदेखि बयान लिने प्रक्रिया सुरु भएको छ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले मंगलबार पुष्टि गर्दै भने, “समय अभावका कारण सोमबार केही समय मात्र बयान लिइयो, आज (मंगलबार)देखि फेरी प्रक्रिया अगाडि बढेको हो।”


पाँचवटा गम्भीर मुद्दामा अनुसन्धान

सरकारी वकिलका अनुसार प्रसाईंमाथि ‘कर्तव्य ज्यान’, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह, र आपराधिक उपद्रव सम्बन्धी कसुरमा बयान लिने काम जारी छ।

सबैभन्दा बलियो मुद्दाको रूपमा ‘ज्यान मार्ने उद्योग’ मानिएको छ। घटनाको दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई जानीजानी गाडीले ठक्कर दिने प्रयास गरेको भन्दै सुरक्षाकर्मीले जाहेरी दिएका थिए। सार्वजनिक भिडियो फुटेजमा प्रसाईं आफैंले गाडी चलाउँदै प्रहरीमाथि गाडी हाँक्दै गरेको दृश्य देखिन्छ। उनले प्रयोग गरेका अपशब्दहरू पनि भिडिओमा कैद छन्।


हिरासतमा रहेका प्रसाईंमाथि थप मुद्दा थपिँदै

दुर्गा प्रसाईंमाथि प्रारम्भिक रूपमा राजद्रोह र संगठित अपराध अन्तर्गत म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो। तर घटनाबारे थप अनुसन्धानसँगै नयाँ कसुरहरू थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ।

१५ चैतको प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। सो घटनापछि पक्राउ पर्नेको संख्या हालसम्म ८४ जना पुगेको छ।


भारतबाट पक्राउ, काठमाडौं ल्याइएपछि अनुसन्धान सुरु

विवादास्पद अभियन्ता झापाको बिर्तामोड–५ निवासी ५४ वर्षीय दुर्गा प्रसाईंलाई भारतको आसामबाट चैत २८ गते पक्राउ गरिएको थियो। उनलाई भोलिपल्ट काठमाडौं ल्याएर जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।


हिंसात्मक आन्दोलन र सार्वजनिक सम्पत्तिमा क्षति

प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनका क्रममा सवारी साधन जलाइएका, पसल र घरहरूमा आगजनीतोडफोड भएका थिए। निजी सम्पत्तिमा ठूलो क्षति पुगेको र हिंसात्मक गतिविधिमा संलग्नको संख्यामा वृद्धिसँगै अनुसन्धानको दायरा बढाइएको छ।

राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित केही व्यक्तिलाई हिरासत मुक्त गरिएको भए पनि, उनीहरूमाथि पनि मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ।

समन्धित समाचार