भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध

 भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका अवरुद्ध सडक सोमबार बिहानसम्म अवरुद्ध नै छ ।

आइतबार ३ वटा डोजर प्रयोग गरेर सडक सुचारु गर्ने प्रयास गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ । पूर्वाधार विशेष आयोजना हेटौँडाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो ।

सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाण्डुतर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ । यस्तै वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।