रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ बर्सिया नर्मला ओलीको विषालु च्याउ सेवनका कारण मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
भागिरामले मङ्गलवार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए । सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो । उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिनुभयो ।
दम्पतीको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ ।





