ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।
शनिवार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् काट्नु नहुने बताएका हुन् । उनले सरकारले उद्योगीहरूले विद्युत् उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए ।
उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत् काट्नु नहुने बताए । उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे । विद्युत्को उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने उनको भनाई थियो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए ।





