प्रतिनिधिसभाको बैठकबाट टीआरसी विधेयक पारित गर्ने तयारी भइरहेको छ। आजको बैठकमा विधेयक पारित गर्नुअघि शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजको बैठकमा प्रस्तुत हुँदैछ। संसद सचिवालयका अनुसार, सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। मंगलबार, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी थिइन्।