माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

14 4

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ । माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ।

उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका थिए । ठूला उद्योगहरूले बक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले नाराबाजि गरेका थिए। यसअघि डेडिकेटेड फिडरबाट लाइन लिने २४० ग्राहकमध्ये अस्पताल लगायतका ५६ ग्राहकलाई छुट दिइएको थियो । अन्य उद्योगलाई भने प्राधिकरणले छुट दिनुपर्ने आधार र कारण नभएको भनी बुझाउन ताकेता गरेको थियो ।

डेडिकेटेड फिडर तर्फ बिलिङ भएको रकम ९ अर्ब ६ करोड ४४ लाख २ हजार ५९२ रुपैयाँ थियो । उक्त रकममध्ये ५ अर्ब ५९ करोड ८७ लाख ५६ हजार ६४५ बुझाएको र ३ अर्ब ४१ करोड ७४ लाख ८४ हजार ८० रुपैयाँ बक्यौता थियो ।

ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ८४ ग्राहकमध्ये ५१ ग्राहकको डेडिकेटेड तथा ट्रंक टेरिफ अनुसार बिलिङ गरेको रकम १८ अर्ब ६२ करोड ८७ लाख ३४ हजार ४८८ रहेकोमा १३ अर्ब १० करोड ३ लाख ३५ हजार २ सय बुझाएको र बक्यौता ६ अर्ब ७२ करोड ३३ लाख ४५ हजार ९९०।३७ रहेको समितिको अध्ययनमा देखिएको थियो ।

डेडिकेटेड फिडर अन्तर्गतका धेरैजसो ग्राहकले महसुल तिरिरहेको र ट्रंक लाइनका ग्राहकमध्ये धेरैजसोले बक्यौता रकम तिरेका छैनन् ।  प्राधिकरणको विवरणअनुसार १० अर्ब १४ करोड ८ लाख ३० हजार ७० रुपैयाँ बक्यौता रहेको छ ।

समन्धित समाचार