प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आज बिदाइ भएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव विफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । संविधान अनुसार प्रतिनिधिसभामा विश्वासको मत विफल भए प्रधानमन्त्री स्वतः पदमुक्त हुने व्यवस्था छ ।
२०७९ मंसिरको निर्वाचनपछि पहिलोपटक २७५ मा २६८ मत पाएका उनी अहिले ६३ मा खुम्चिएका छन्। प्रतिनिधि सभामा सहभागी २५८ सांसदमध्ये प्रचण्डले ६३ मत पाएका हुन्। उनको विपक्षमा १९४ मत परेको छ। र प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।
प्रधानमन्त्री प्रचण्डले पाँचौंपटक प्रतिनिधि सभाबाट मागेको विश्वासको मतमा उनलाई नेकपा माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२१), एकीकृत समाजवादी (१०) ले मात्रै साथ दिएका छन्। उनको विपक्षमा नेपाली कांग्रेस (८८), नेकपा एमाले (७७ एक सभामुख र एक निलम्बित), राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी ७, जनमत पार्टी ६, जनता समाजवादी पार्टी नेपाल ५, लोकतान्त्रिक समाजवादी पार्टी (४), नागरिक उन्मुक्ति पार्टी (४) र स्वतन्त्र (२) रहेका छन्।
उनले जतिपटक विश्वासको मत लिए, त्यति नै उनीप्रति अविश्वास बढेको देखिन्छ। उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिँदा उनको पक्षमा २६८ मत परेको थियो। त्यसपछि दोस्रोपटक २०७९ चैत ५ गते विश्वासको मत लिँदा १७२ मत पाएका थिए।
तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत लिँदा घटेर १५७ मतमा सिमित भएका थिए। चौथो पटक उनले २०८१ जेठ ७ गते विश्वासको मत लिएका थिए। जहाँ १५७ मत प्राप्त गरेका थिए।
पाँचौंपटक भने उनले ‘प्रचण्ड अविश्वास’ हासिल गरेका छन्। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिमा सरकार बनाउने सहमति गरिसकेका छन्। एमालेका केपी शर्मा ओलीले पहिले नेतृत्व गर्नेछन्।





