ओलीलाई प्रधानमन्त्री बन्न संविधानले दिदैन

नेकपा (माओवादी केन्द्र) का नेता, पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न संविधानले नदिने दाबी गरेका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ (३) आकर्षित हुने बताएका हुन् । उनले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार नै रहेको जिकिर गदैं कांग्रेस–एमालेले झुक्किएर ओलीलाई प्रधानमन्त्री बनाउने सम्झौता गरेको टिप्पणी गरे ।

ओलीलाई प्रधानमन्त्री बनाउने भनेर कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले वचन दिएपनि संविधान बाधक बन्दा अहिले छटपटी सुरु भएको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदै गर्दा संविधानको धारा ७६ (२) को प्रोभिजन नै सकिने बताए ।

प्रधानमन्त्रीको दाबी पेशका लागि आह्वान गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले विवेक गुमाउन नहुने उनको टिप्पणी छ । विगतका राष्ट्रपतिले झैं पौडेलमा रवैया नदोहोरियोस् भन्ने आफूहरुको चाहना रहेको पनि उनले बताए ।

‘संविधान वकिल, न्यायाधीश र शीर्षस्थ राजनीतिक दलका नेताले मात्रै हेर्ने डकुमेन्ट होईन । आम जनताले हेनुपर्यो । हरेक प्रोभिजन स्वतन्त्र हुन्छ । स्वतन्त्र अस्तित्व हुन्छ । ७६ (३) चाहीँ कुन अवस्थामा लागू हुन्छ त ? उहाँहरुले भन्नुपर्यो नि त । संविधान नहेरेर सम्झौता गर्ने, ओली प्रधानमन्त्री हुन संविधानले दिँदैन । कांग्रेसका नेताहरु संविधानले तपाईँलाईँ दिँदैन भनेर फर्किन सक्दैनन् । यसमा राष्ट्रपति संविधानको संरक्षक हो भने विवेक गुमाउन हुँदैन । संविधानको अन्यथा ब्याख्या गर्न पाईँदैन । विगतका रवैयाहरु नदोहोरियोस् भन्ने हामी विशेष आग्रह गर्छौं,’– उनले भने ।