सरकार गठन गर्न ओलीको दौड धुप, देउवा भेट्न बुढानिलकण्ठ पुगे

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कांग्रेसको समर्थनमा सत्तारोहणको तयारीमा रहेका ओली आज (बुधबार) साँझ देउवा भेट्नको लागि बुढानिलकण्ठ पुगेका हुन् । उनी आज महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लिएर बुढानिलकण्ठ पुगेका थिए । देउवा पत्नी आरजु राणा र रमेश लेखकसहित निवासमा थिए ।

उनीहरुबीच मन्त्रालयको भागबण्डामा गम्भीर ढंगले कुराकानी भएको बताईएको छ । यसअघि दुई दलबीच सत्ता सहकार्यको सहमति भएको बेलामा कांग्रेस र एमालेले क्रमशः १० र ९ मन्त्रालय लिने सहमति भएको कुरा बाहिर आएको थियो । अहिले दुई तिहाई पुर्याउनको लागि साना दललाई पनि साथमै लिनको लागि पनि आज देउवा र ओलीले मन्त्रालय कम लिने तर साना दललाई पनि साथमा लिएर जाने समझदारी गरेको बताईएको छ ।